काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको हेरफेरका कारण प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिनु पर्ने अवस्था आएको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि सभापतिबाट खतिवडाले राजीनामा दिनुपर्ने माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष दल रास्वपा, राप्रपालगायतले छानविन गरेर कडा कारवाही गर्नुका साथै खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
नेपाली कांग्रेसकै नेताहरुले पनि विधेयकमाथि भएको हेरफेर गम्भीर विषय भएको भन्दै छानविन गरेर दोषीलाई कारवाही गर्नुपर्ने बताइरहेका छन् । जसले जालझेल गरेपनि नैतिक जिम्मेवारी सभापतिकै भएको हुँदा खतिवडाको पद धरापमा परेको देखिन्छ ।
समितिको आजको बैठकमा एमाले सांसद तथा पूर्व कानुनमन्त्री पदम गिरीले विधेयकको अन्तिम प्रतिवेदनमा जानाजान हेरफेर गरिएको आरोप लगाउँदै सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका हुन ।
गिरीले भने, ‘समितिले महिनौं छलफल गरेर ‘कुलिङ अफ पिरियड’ दुई वर्षको व्यवस्था सर्वसम्मतिबाट पारित गरेको थियो । तर अन्तिम प्रतिवेदनमा सभापति र सचिवको हस्तक्षेपले फरक आशयसहित ‘बाहेक’ शब्द घुसाइएको छ । यो कार्य लज्जास्पद मात्र नभई लोकतान्त्रिक प्रक्रियाप्रति घात हो ।’
उनले सभापति खतिवडा र सचिव दुराले यो विषयको सम्पूर्ण जिम्मेवारी लिँदै नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘अब सचिवज्यू पनि पदमा बसिरहन मिल्दैन’ गिरीले थपे ।
सांसद गिरीले समितिमा भएका छलफल र निर्णयलाई अपारदर्शी तरिकाले विकृत गरिएको भन्दै यस्तो काण्ड नेपालको संसदीय इतिहासकै गम्भीर क्षति भएको टिप्पणी गरेका छन् ।