काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय निजामती सेवा विधेयकमा भएको चलखेलबारे छानबिन हुने स्पष्ट पारेका छन् ।
बुधवार काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले विधेयकमा देखिएको विवाद गम्भीर भएको जनाउँदै छानबिनपछि दोषी जो भए पनि कारबाही हुने बताएका हुन् ।
प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा ‘कुलिङ पिरियड’ को व्यवस्था राखिएको छ । तर, त्यसमा ‘बाहेक’ शब्द राखिएपछि विधेयकको आशय र प्रभावप्रति प्रश्न उठेका छन् । यस विषयमा चलखेल भएको भन्ने आशंका भइरहेका बेला सिंहले अनुसन्धानको आवश्यकता रहेको बताएका हुन् ।
उनले संविधान निर्माणका क्रममा हस्ताक्षर गर्ने नेताहरूले आज त्यसकै विरोध गर्नु विडम्बनापूर्ण रहेको धारणा राखे । साथै, सरकारले गर्ने काम जनताले नियालेर हेरेका छन् भन्दै आफूहरू जनताको सेवा गर्न राजनीति आएको उल्लेख गरे ।
सिंहले अबका दिनमा देश र जनताको पक्षमा काम नगर्ने नेतृत्वलाई जनताले चुनावमार्फत मूल्यांकन गर्ने चेतावनीसमेत दिए ।
























