काठमाडौँ — संघीय निजामती सेवा विधेयकमा गरिएको संशोधनको एक अंश ‘कुलिङ पिरियड’ प्रावधानलाई कमजोर बनाउने गरी घुसाइएको ‘बाहेक’ शब्द — को विषयमा नेकपा एमालेका सांसद सूर्य थापाले कडा आपत्ति जनाउँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई जिम्मेवार ठहर गरेका छन् ।
थापाका अनुसार समितिबाट सर्वसम्मत पारित प्रतिवेदनमा उल्लेख नभएको ‘बाहेक’ शब्द पछि थपिएर विधेयक प्रतिनिधि सभाबाट पास गरिएको छ, जसले मूल प्रावधानको उद्देश्यलाई नै निष्प्रभावी बनाएको छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले लेखेका छन्, “समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ। यस्तो गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुन सक्दैन।”
कांग्रेस सांसद खतिवडाले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दफा मिलाउने क्रममा यस्तो परिवर्तन भएको हुन सक्ने संकेत गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमालेका राजकुमार गुप्ता हुन् । मन्त्री गुप्ताले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान बिगारिएको पुष्टि गर्दै दोषीको पहिचान गरी कारबाही गरिने र विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्दा संशोधन गरेर सही रूपमा पेस गरिने स्पष्ट पारेको समाचार आएको छ ।
प्रमुख विवादको विषय बनेको ‘कुलिङ पिरियड’ व्यवस्था अन्तर्गत, निजामती वा सरकारी सेवाबाट अवकाश वा राजीनामा दिएको व्यक्तिले २ वर्ष नपुगी कुनै सरकारी वा संवैधानिक पदमा नियुक्ति पाउने छैन भन्ने स्पष्ट प्रावधान समितिको प्रतिवेदनमा उल्लेख थियो ।
तर प्रतिनिधि सभाबाट पारित विधेयकमा सो प्रावधान कमजोर बनाउँदै यस्तो उल्लेख गरिएको छ: “संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति ‘बाहेक’को पदमा नियुक्ति लिन नपाइने।”
यस वाक्यमा रहेको ‘बाहेक’ शब्दले मूल भावना कमजोर पारिदिएको छ। नेता थापाले भने, “कानुन निर्माणको संवैधानिक प्रक्रिया र विधिसम्मत अभ्यासमा यो गम्भीर विचलन हो। प्रतिनिधि सभा र जननिर्वाचित सांसदहरूको निर्णयलाई हेरफेर गर्नु अत्यन्त आपत्तिजनक कार्य हो।”
यस विषयमा चौतर्फी बहस चर्किएको छ । प्रमुख प्रशासकीय तहमा रहेका व्यक्तिहरूले उक्त ‘कुलिङ पिरियड’ प्रावधानविरुद्ध दबाब सिर्जना गर्दै आएको खुलेको थियो। अब सो विवादले राजनीतिक स्तरमै गम्भीर मोड लिएको देखिन्छ।
























