काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। विद्यालय शिक्षा विधेयकमाथि छलफल गरी पारित गर्न सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले छलफलका लागि अझै केही समय माग गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।
त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शिक्षकहरूसँग छलफल बाँकी नै रहेकाले अहिले विधेयक पारित नगर्न सुझाव दिएका थिए। उनले अहिले नै विधेयक पारित भए कांग्रेसलाई स्वीकार्य नहुने बताए। समिति सदस्यहरूले भने सोमबार नै समितिबाट विधेयक पारित गर्नुपर्ने अडान राखेका थिए। माओवादी सांसद रेखा शर्मा, एमाले सांसद विद्या भट्टराई, रास्वपा सांसद सुमना श्रेष्ठलगायतका सांसदहरूले सहमतिमा यसअघि भएका सहमतिलाई आधार मान्दै विधेयक अघि बढाउन माग गरेका थिए।
विधेयकमा अस्थायी, करार र राहत शिक्षकलाई आन्तरिकबाट ६० प्रतिशत र खुलाबाट ४० प्रतिशतलाई स्थायी गर्ने व्यवस्था छ। तर, नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट स्थायी गर्नुपर्ने अडान राख्दै आएको छ। शिक्षामन्त्रालयले सोमबार नै गरेको वार्तामा शिक्षकहरूले आफ्नो अडान कायमै रहेको जनाएका थिए।
























