काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको श्रमबजारमा विदेशी नागरिकको वर्चस्व बढ्दै गएको बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय युवा परिषदले काठमाडौंमा आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अहिलेको श्रम बजारको अवस्थालाई “नेपालले खाडी ताक्ने, आफ्नै देशमा विदेशीले रोजगारी पाउने” विडम्बना भनेका छन् ।
उनका अनुसार गार्मेन्ट तथा सुनचाँदीजस्ता उद्योगमा सतहमा केही नेपाली देखिए पनि वास्तवमा ती उद्योगहरूमा काम गर्नेहरूको बहुसंख्या विदेशी नागरिकहरू हुन् । “गार्मेन्ट उद्योगभित्र पुग्दा सबैजसोमा बाहिरी नागरिकको वर्चस्व देखिन्छ,” मन्त्री भण्डारीले भने, “सुनचाँदी व्यवसायमा मात्र झन्डै तीन लाख बंगाली मूलका मानिसहरू कार्यरत छन् ।”
विदेश पलायन बढ्नुको प्रमुख कारण आफ्नै देशको श्रमबजार कब्जा भएको अवस्था रहेको मन्त्री भण्डारीको तर्क छ । उनले यो समस्याको समाधानका लागि नीति परिवर्तन आवश्यक रहेको र सरकार त्यस दिशामा अगाडि बढिरहेको उल्लेख गरे ।
साथै, उनले पछिल्लो समय सिपमूलक तालिमको प्रचारप्रति पनि आलोचनात्मक टिप्पणी गर्दै भने, “अहिले सिपमूलक तालिम दिने फेसन चलेको छ, तर त्यो तालिमपछि प्राप्त सर्टिफिकेटको मान्यता कसले दिन्छ?” उनले सिटिइभिटी (CTEVT) ले दिने प्रमाणपत्र अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको हुनुपर्नेमा जोड दिए ।
श्रमबजारको सुधार र दक्ष जनशक्ति विकासका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उनले बताए ।

























