काठमाडौँ । पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिए।
यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनेछन्। गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा महतले बताए। बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने उनकाे भनाई छ।
बैठकमा महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत छ।
प्रवक्ता डा. महतले आजदेखि सुरु हुने बैठकले नेपाली कांग्रेसको आगामी रणनीति र सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। याे बैठकबाट गठबन्धन सरकारको कार्यप्रगति र भ्रातृ संस्थाको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा कांग्रेसले लिएको छ। (रासस)























