काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा भिजिट भिसा प्रकरणको विषय उठ्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच तीव्र भनाभन भयो । अर्यालले आफूमाथि सदनमै गम्भीर आरोप लगाइएको भन्दै ती अभिव्यक्तिहरू संसदको रेकर्डबाट हटाउन माग गरे ।
अर्यालले भनिन्, “हामी ३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनमा छौं । तर, संसदीय समिति वा आयोगको मागलाई विषयान्तर गर्दै हिजो यसै सदनमा हामीमाथि निराधार आरोप लगाउने प्रयास भयो ।”
त्यस्तै, उनले आफ्नो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्स को नाम अनावश्यक रूपमा जोडिएको भन्दै आपत्ति जनाए । उनले व्यंग्यात्मक लहजामा भने, “२०४८ सालतिर मन्त्रीको पीए भएर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएर हनुमानढोकाको चिसो छिँडीमा बसेका मान्छेहरू अहिले यही सदनमा छन्। भिसा पाएका भए आफैँ टाप कस्नेहरू हामीमाथि आरोप लगाउँछन् ।”
“हो, म गर्वका साथ भन्छु— सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म काम गरेर खाने मान्छे हुँ, चोरेर खाने होइन,” उनले थपे, “हामीले पैसा लिएको र फर्केका छैनन् भने प्रमाण पेस गर्न चुनौती दिन्छु । नभए निराधार आरोप रेकर्डबाट हटाइनुपर्छ ।”
अर्यालको भनाइपछि रामहरि खतिवडाले सभामुखसमक्ष बोल्ने समय माग गरे र जवाफमा भने, “चोरको खुट्टा काट भनिएको मात्रै हो, नाम लिएका थिएनौं । निष्पक्ष छानबिनको माग मात्रै गरेका थियौं । अर्यालले बोलेका केही शब्द रेकर्डबाट हटाइनुपर्छ ।”
सभामुख देवराज घिमिरेले दुवै पक्षलाई संयमित र जिम्मेवार रहन आग्रह गर्दै भने, “सांसदहरूले बोलेको हरेक कुरा प्रमाणित योग्य र जिम्मेवारीपूर्वक हुनुपर्छ । गैरसंसदीय भाषा वा व्यक्तिगत आरोप–प्रत्यारोप र नाम तोकेर बोल्ने अभ्यास संसदमा स्वीकार्य छैन । रेकर्डबाट हटाउने परम्परा त्यसै अनुसार लागु गरिन्छ ।”
यसबीच, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले संसदको मर्यादा उलङ्घन गरेको बताएका थिए । घिमिरेले प्रतिपक्षी रास्वपालाई लक्षित गर्दै संसदको आकस्मिक समयको दुरुपयोग गर्ने काम भइरहेको आरोप लगाएका छन् । उनले जथाभावी अव्यिक्ति दिने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्ने माग गरे ।
रास्वपा र राप्रपा मागका विषयमा सरकारले समिति बनाइसकेको अवस्थामा संसद अवरोधको औचित्य नरहेको घिमिरेको भनाइ छ ।
























