काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेरामक्स प्रविधि खरिदमा संलग्न रहेको आरोप लागेका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन् ।
बस्नेतले विशेष अदालतमा हाजिर हुन अनुमति माग्दै निवेदन दिएअनुसार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान लिइँदैछ । बयानपछि आजै थुनछेक बहस हुने तयारी गरिएको छ ।
बस्नेत सञ्चारमन्त्री रहेको बेला उनको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रमबारे छलफल गरिएको थियो । त्यसअनुसार प्राधिकरणले तयार पारेको प्रस्ताव मन्त्रालयमा पठाइएको थियो, जुन राय उपसचिव, सहसचिव हुँदै सचिव महेन्द्रमान गुरुङसमक्ष पुगेको थियो ।
२०७४ साल भदौ २३ गते मन्त्री बस्नेतले उक्त वार्षिक बजेट स्वीकृत गर्दै निर्णय पत्रमा एक वाक्य थप गरेका थिए — “यसका साथै इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त इक्युपमेन्ट र सिस्टम सञ्चालन गर्ने ।” यही निर्णयलाई टेरामक्स प्रविधि खरिदसँग जोडिएको भनिएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै बस्नेत हाल सांसद पदबाट निलम्बनमा छन् । आयोगमा बयान दिने क्रममा उनले आफूले कल डिटेल हेर्ने वा गोपनीयता भंग गर्ने उद्देश्यले प्रणाली स्थापनाको निर्णय नगरेको जिकिर गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित अन्य अधिकारीहरूमाथि टेरामक्स प्रविधि खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
























