काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालका साथै अन्य नेताहरुलाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि पार्टीभित्र चर्को बहस सुरु भएको छ ।
शनिबार लुम्बिनी प्रदेशको तिलोत्तमामा आयोजित युवा संघ नेपालको भेला सम्बोधन गर्दै उनले अध्यक्ष नेपाल संकटमा परेकाले पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखेकी थिइन् ।
भेलामा बोल्दै झाँक्रीले भनिन्, “पार्टीमा संकट छ, त्यो पनि अध्यक्षकै वरिपरि । यस्तो अवस्थामा भाग्ने होइन, पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुपर्छ । अर्ली महाधिवेशन गरेर नयाँ ढंगले नेतृत्व चयन गरौँ ।”
उनको थप भनाइ थियो, “अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । कानुनी र संवैधानिक हिसाबले पनि अध्यक्षमाथि संकट आएको स्पष्ट छ । अरू धेरै नेता कार्यकर्तामाथि पनि समस्या छन् । अब समय छ— पार्टीलाई नयाँ दिशा दिने ।”
उनले अर्ली महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने र आवश्यक भए परिवर्तनका लागि केही ‘डिपार्चर’ (विभाजन) गर्नुपर्ने संकेतसमेत गरिन् । झाक्रीले अगाडि भनेकी छन्, ‘कहाँ हुन्छ यसरी ? म त भन्छु- अब अर्ली महाधिवेशन गरौँ । कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ ।’
उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा झाँक्रीले कडा शब्दमा नेतृत्वको आलोचना गरेपछि यसलाई बाहिर आउन नदिन कार्यकर्ताहरुबाट खिचिएका भिडियोहरु डिलिट गर्ने र गराउने कामहरु भएको थियो । तर, युवा संघकी केन्द्रीय नेतृ तथा नेकपा एस गोरखाकी अगुवा रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक मार्फत झाँक्रीले बोलेको भिडियो अपलोड गरिदिएकी छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
झाँक्रीको यो अभिव्यक्तिले नेकपा एसभित्र नेतृत्व र सांगठनिक संरचनाबारे बहस चर्किने संकेत देखिएको छ भने पार्टीभित्र खैलावैला मच्चिएको छ ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । बुधबार न्यायाधीशहरू विशेषका तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रूपैयाँ धरौटी माग गर्ने आदेश भएको थियो । उनी धरौटी बुझाएर घर फर्किन पाएका थिए । त्यसलाई लिएर नै झाँक्रीले अध्यक्षले अब पार्टी हाँक्न नसक्ने अभिव्यक्ति दिएकी हुन ।

























