विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये एकै परिवारका बुवा–छोरा परेका छन् ।
शनिबार साँझ साढे ७ बजे रामधुनी नगरपालिका–७ बासबिटीस्थित चतरा–कान्छीचोक भित्री सडकखण्डमा दुर्घटना भएको हो । प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गर्दा को ३३ प ९६०५ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा ५८६४ नम्बर मोटरसाइकल चालक रामधुनी–६ निवासी ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र ९६०५ नम्बर मोटरसाइकल चालक इनरुवा नगरपालिका–६ निवासी अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। उनीहरुको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार राति मृत्यु भएको हो ।
घाइतेमध्ये रामधुनी–६ की ३२ वर्षीया प्रतीक्षा चौधरी (इनर्चन चौधरीकी पत्नी) र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर अवस्थामा छन् । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























