काठमाडौ । अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने परम्परा अन्त्य हुने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा एक महत्वपूर्ण फैसला सुनाएको हो।
अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै रोक लगाएका थिए। उक्त निर्णयलाई तल्लो अदालतका न्यायाधीशहरूले रोक लगाएका थिए। तर, सर्वोच्चले ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशमाथि तल्लो अदालतका न्यायाधीशहरूले देशभर प्रभाव पर्ने गरी रोक लगाउन नसक्ने र उनीहरूले आफ्नै आदेशमा पुनर्विचार गर्नुपर्ने फैसला सुनाएको हो। बीबीसीका अनुसार सर्वोच्चले भनेको छ, ‘तल्लो अदालतका न्यायाधीशहरूले देशभर राष्ट्रपतिको जन्ममा आधारित नागरिकता आदेशलाई रोक्न सक्दैनन्। उनीहरूले आफ्नो आदेशमा पुनर्विचार गर्नुपर्छ।’
ह्वाइट हाउसमा पत्रकारहरूसँग राष्ट्रपतिट्रम्पले यो निर्णयलाई ‘धेरै ठूलो र अद्भुत’ भनेका छन्। उनले यो फैसला संविधान, शक्तिको पृथकीकरण र कानुनको शासनका लागि ‘ऐतिहासिक विजय’ भएको दाबी गरेका छन्। ‘यो निर्णयले हाम्रो आप्रवासन प्रक्रियामा भइरहेको ठगी रोक्नेछ।’ ट्रम्पले भने,‘अब हामी ती नीतिहरू लागू गर्न अगाडि बढ्न सक्छौं जुन गलत तरिकाले रोकिएका थिए। यो निर्णय संविधान र कानूनको विजय हो। अब आफ्ना नीतिहरू कार्यान्वयन गर्न द्रुत गतिमा अगाडि बढ्नेछन्।’ ट्रम्पले अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने परम्परा एक षड्यन्त्र भएको दाबी गरेका थिए।
यो फैसलाले ट्रम्पका अरू धेरै नीतिहरूलाई समेत कार्यान्वयन गर्ने बाटो खोलेको छ। सर्वोच्च अदालतको निर्णयअनुसार ट्रम्प प्रशासनले अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने परम्परा अन्त्य गर्ने कार्यकारी आदेश अब एक महिनापछि कार्यान्वयनमा जानेछ। कार्यान्वयन नहुँदासम्म भने नागरिकता पाउनेछन्। ट्रम्पले आफ्नो शपथ ग्रहणको दिन जनवरी २० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाएका थिए। त्यसपश्चात संघीय अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता अधिकार समाप्त गर्ने निर्णयलाई रोक लगाएको थियो। सर्वोच्चको फैसलाले राष्ट्रपति ट्रम्प थप शक्तिशाली बनेका छन् । (एजेन्सी)

























