काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ भसिबुमा बाढीले गोठ बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।
बिमचना खोलामा आएको आकस्मिक बाढीले सुतेकै अवस्थामा गोठ बगाउँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनका पति अशोक बलामी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गए रातिको भारी वर्षाका कारण खोलामा आएको बाढीले बलामी दम्पती बस्दै आएको सहित तीनवटा गोठ बगाएको थियो ।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नम्बर १९ गुल्म नुवाकोट र सुरक्षा बेस बन्चरेबाट ६५ जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका थिए ।
बाढीले गोठसँगै पशुचौपाया र अन्य घरेलु सामग्री पनि बगाएको स्थानीयहरूले बताएका छन् ।

























