काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रहित र जनताको पक्षमा बोल्ने एमालेको भूमिकाका कारण चारवटा शक्तिबाट निरन्तर हमलाको सामना गर्नु परेको बताएका छन् । उनले यी हमलाको दृढतापूर्वक प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादी, माओवादी–समाजवादी पृष्ठभूमिका कम्युनिस्ट धारी समूह, पपुलिस्ट राजनीतिको प्रवक्ता राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह समूह तथा बाह्य शक्तिहरूबाट पार्टीमाथि साइबर हमला भइरहेको दाबी गरेका छन् ।
‘एमालेलाई कमजोर पार्न राजावादी, माओवादी–समाजवादी पपुलिस्ट, राष्ट्रिय स्वतन्त्र पार्टी–बालेन समूह र विदेशी शक्तिहरूले सामूहिक साइबर हमला गरिरहेका छन्’, पोखरेलले भने, ‘यी शक्तिहरू सामाजिक सञ्जाल र प्रचारमार्फत एमालेको छवि कमजोर पार्न खोजिरहेका छन् ।’
राजावादीको विरोध एमालेलाई लक्षित
पोखरेलले राजावादीहरूले जेठ १५ देखि थालेको आन्दोलन एमालेलाई कमजोर बनाउने उद्देश्यले गरिएको दाबी गरेका छन् । “एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाउने प्रयासमा अवरोध हुने थिएन,” उनले भने, “हामीमाथि राजावादीहरूको आक्रमण हाम्रो सटीक मार्गको प्रमाण हो ।”
कम्युनिस्ट धारीहरू विदेशी शक्तिको भरिया
उनले माओवादी, समाजवादी र अन्य कम्युनिस्ट धारी समूहहरूलाई विदेशी शक्तिको भरिया भन्दै ती समूहले एमालेलाई कमजोर बनाएर आफूलाई विस्तार गर्ने उद्देश्य लिएको आरोप लगाएका छन् । “कांग्रेससँग एमालेको सहकार्यले उनीहरूको बार्गेनिङ पावर घटेकोले उनीहरू हाम्रो विरुद्ध खनिएका हुन्,” महासचवि पोखरेलले स्पष्ट पारे ।
पपुलिस्ट राजनीति र बाह्य शक्ति
पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहको समूहलाई पपुलिस्ट राजनीतिको माध्यमबाट जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको बताए । उनले भने, “यी समूहले एमालेलाई मात्रै प्रतिरोध गर्न सक्छ भन्ने बुझेका छन्, त्यसैले हाम्रो विरुद्ध हमला गरिरहेका छन् ।”
बाह्य शक्तिले नेपालको स्वाभिमानमा आघात पुर्याउने रणनीति अघि सारेको भन्दै उनले एमालेले सिमा नक्सा अद्यावधिक, नाकाबन्दीको प्रतिरोध र राष्ट्रिय स्वाभिमानको रक्षामा अग्रणी भूमिका खेलेको स्मरण गराए ।
ओलीमाथिको हमलाको प्रतिवाद गर्न आह्वान
पोखरेलले एमालेलाई कमजोर पार्ने प्रयाससँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हमला भइरहेको बताए । ‘आज ओलीमाथि हमला गर्नेहरूले भोलि अरू नेतालाई पनि छोड्ने छैनन्’, उनले भने, “त्यसैले ती शक्तिहरूलाई आजै निस्तेज पार्न सबै तयार रहनुपर्छ ।’
























