काठमाडौं । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले ल्याएको बजेटको कुल ११.९ प्रतिशत बजेट काठमाडौँ जिल्लामा परेको छ भने दोस्रोमा प्रदेश राजधानी समेत रहेको मकवानपुरमा १०.६ प्रतिशत बजेट विनियोजन भएको छ । यस्तै तेस्रो स्थानमा नुवाकोट र काभ्रे जिल्लामा कुल बजेटको १०/१० प्रतिशत बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
यसै गरी सिन्धुपाल्चोक जिल्लामा ८.४ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको गृहजिल्ला समेत रहेको दोलखामा विनियोजित बजेटको ८.३ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक मामिला मन्त्री काफ्लेले आफ्नो जिल्लामा सबै बजेट लिएर गयो भन्ने आरोप लगाइए पनि मन्त्रीको गृहजिल्ला दोलखामा भने बजेट परेको जिल्लामा पाँचौँ स्थानमा रहेको छ ।
यस्तै चितवनमा ७.५ प्रतिशत, सिन्धुलीमा ६.८ प्रतिशत, ललितपुरमा ६.७ प्रतिशत, रामेछाप जिल्लामा ६.१ प्रतिशत, धादिङमा ६.१ प्रतिशत, भक्तपुर जिल्लामा ४.।८ प्रतिशत र रसुवा जिल्लामा २.८ प्रतिशत बजेट विनियोजित भएको छ ।
बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय अन्तर्गतका विकास बजेट तर्फ ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैंया बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
काभ्रेमा ३ अर्ब ३० करोड २५ लाख ७० हजार , चितवनमा २ अर्ब ४८ करोड ५८ लाख ४० हजार, दोलखा जिल्लामा २ अर्ब ७४ करोड ९९ लाख ५० हजार, धादिङमा २ अर्ब १ करोड ४० लाख ५० हजार, नुवाकोटमा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार, भक्तपुरमा १ अर्ब ५९ करोड ९३ लाख, मकवानपुरमा ३ अर्ब ४९ करोड ८३ लाख, रसुवामा ९२ करोड ५२ लाख ९० हजार, रामेछापमा २ अर्ब ३ करोड ११ लाख ४० हजार, ललितपुरमा २ अर्ब २२ करोड ५४ लाख, सिन्धुपाल्चोकमा २ अर्ब ७९ करोड ९५ लाख ४० हजार र सिन्धुलीमा २ अर्ब २५ करोड ९६ लाख ८० हजार बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
सांसदहरुले आशंका गरे जस्तो बजेटमा कुनै कमजोरी नभएको र आफूले गलत नगरेको मन्त्री काफ्ले स्पष्ट पारेका छन् । प्रदेशको आर्थिक गतिविधिमा देखिएका चुनौती सम्वोधन गर्न उत्पादन, रोजगारी र आम्दानीका क्षेत्रहरुमा केन्द्रित गरी ल्याइएको बजेटले प्रदेशका नागरिकमा विकास र समृद्धिको आशा पूरा गर्न आत्मविश्वास जगाउने दावी मन्त्री काफ्लेले गरेका छन् ।
बजेट बनाउँदा नेपालको संविधान, दीर्घकालिन विकास लक्ष्य, संघीय सरकारको वजेट वक्तव्य, प्रदेशको दोस्रो आवधिक योजना, प्रदेश सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तथा प्रदेश सभाका माननीय सदस्यहरुबाट प्राप्त सुझाव, आम नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, विद्वतवर्ग, नागरिक समाज, निजी क्षेत्र एवं सञ्चारकर्मीलगायत सरोकारवालाहरुको भावना र चाहनालाई मार्गदर्शनका रुपमा लिएको मन्त्री काफ्लेले स्पष्ट गरेका छन् ।
त्यस्तै मुख्यमन्त्री बहादुर सिंह लामाले सबै सांसदहरुको योजना समावेश भएको बताएका छन् । पार्टीकै सांसदहरुले वजेटप्रति गुनासो गरेपछि मुख्यमन्त्री लामाले भने ‘सबै सांसदहरुको योजना समावेश गरिएको छ, माननीयज्यूहरुले बजेट किताब पूरै अध्ययन नगरेको हो की ?’
बजेट निर्माणको समय तलमाथि परेको हुनाले केही सांसदहरुको योजना नपरेको हुन सक्ने स्वीकार गर्दै मुख्यमन्त्री लामाले सांसदहरुका सकेसम्म धेरै योजना समेटिएको बताएका छन् । योजनामा डुप्लिकेसन भए सुधार गर्ने प्रतिबद्धता पनि उनले जनाएको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन् ।