काठमाडौँ । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन न्यायाधीश र न्याय परिषद्को एक प्रस्तावित सदस्यविरुद्ध सात वटा उजुरी परेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा तथा न्याय परिषद् सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालविरुद्ध उजुरी परेको जानकारी दिइन् ।
सभापति न्यौपानेका अनुसार महेशकुमार नेपालविरुद्ध ५ उजुरी परेका छन् भने बाँकी दुई उजुरी तीन प्रस्तावित न्यायाधीशहरुमाथि परेका हुन् ।
समितिले उजुरीकर्ताहरूलाई आगामी असार १३ गतेको बैठकमा बोलाउने निर्णय गरेको छ । त्यसपछि असार १५ गतेको बैठकमा प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्ययोजना सुन्ने र सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय गरिएको छ ।
“१३ गते उजुरीकर्ताहरूबाट उजुरीबारे स्पष्ट जानकारी लिनेछौं,” सभापति न्यौपानेले भनिन्, “१५ गते प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यलाई समितिमा बोलाएर कार्ययोजना प्रस्तुत गराउनेछौं । सोही दिन निर्णय हुने सम्भावना छ, नभए भोलिपल्ट गरिनेछ ।”
ती प्रस्तावित व्यक्तिहरूका कार्ययोजनाका प्रतिहरू समितिका सदस्यहरूलाई वितरण गरिएको छ।

























