काठमाडौँ । नेपालमा माल्दिभ्सका मेडिकल विद्यार्थीलाई अध्ययनको अवसर दिने सम्बन्धी द्विपक्षीय सम्झौता अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटमा सो विषयमा सकारात्मक प्रगति भएको जानकारी आदानप्रदान गरिएको हो ।
भेटका क्रममा मन्त्री पौडेलले नेपाल सरकारले माल्दिभ्सबाट प्राप्त मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिरहेको बताए । उनले एमबीबीएससहित एमडी र एमएस तहमा माल्दिभ्सका विद्यार्थीलाई अध्ययनका लागि स्वागत गर्न नेपाल तयार रहेको जनाए । नेपाली विद्यार्थीलाई असर नपर्ने गरी विदेशी विद्यार्थीका लागि छुट्टै कोटा व्यवस्था गर्ने विषयमा परामर्श भइरहेको र चाँडै निष्कर्षमा पुगिने उनले बताए ।
पौडेलले माल्दिभ्समा काम गरिरहेका नेपाली कामदारले स्वदेश पैसा पठाउन समस्या भोगिरहेको उल्लेख गर्दै यसको समाधान आवश्यक रहेको बताए । जवाफमा राज्यमन्त्री गसिमले आफ्नो देशको अर्थ मन्त्रालयसँग समन्वय गरेर समाधान खोजिने आश्वासन दिए ।
यसअघि इन्डोनेसियामा भएको स्वास्थ्य मन्त्रीस्तरीय भेटपछि जेनेभामा समेत दुई देशका प्रतिनिधिबीच यस विषयमा छलफल भएको थियो । नेपालले विदेशी विद्यार्थीलाई मेडिकल शिक्षामा सहभागी गराउने दीर्घकालीन रणनीति अन्तर्गत आवश्यक नीतिगत संशोधनको तयारी गरिरहेको छ ।
मन्त्री पौडेलको सचिवालयका अनुसार माल्दिभ्सले पठाएको मस्यौदामा आवश्यक परिमार्जन गरी चाँडै औपचारिक सम्झौता गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

























