काठमाडौं । देशका पाँच महानगरपालिकाले असार १० गतेभित्र नयाँ आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरिसक्दा पनि काठमाडौं महानगरपालिका भने पहिलोपटक समयमा बजेट प्रस्तुत गर्न असफल भएको छ ।
समयमै बजेट नल्याएपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाहको औपचारिक ध्यानाकर्षण गराएको छ । मंगलबार राति बसेको अनौपचारिक बैठकपछि समितिले बुधबार मेयरलाई लिखित रूपमा तत्काल स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउन आग्रह गरेको हो ।
कार्यपालिका र नगरसभा सदस्यहरूद्वारा पटक–पटक दबाब दिँदा पनि मेयर शाहले आवश्यक समन्वय नगरेको आरोप छ । समितिका सदस्य तथा महानगरका प्रवक्ता नवीन मानन्धरले भने, “सबैभन्दा बढी पहल मेयरज्यूले नै गर्नुपर्ने हो, तर उहाँबाट त्यस्तो देखिएन ।”
प्रशासकीय विवादले थप गहिरिएको समस्या
काठमाडौँ टावर प्रकरणमा मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीच विवाद चर्किएको छ । गुरागाईँलाई कार्यालय प्रवेशमै रोक लगाइएको थियो । समितिका एक सदस्यका अनुसार, “टावर सम्बन्धी फाइलमा अन्तिम निर्णय मेयरकै हस्ताक्षरसहित गरिएको थियो, तर अहिले प्रमुख प्रशासकीय अधिकृतमाथि मात्रै दोष थोपर्ने प्रयास भइरहेको छ।”
बजेट नआउँदा सेवा प्रवाह प्रभावित हुने जोखिम
बजेट ढिलाइका कारण विकास निर्माण, कर्मचारी पारिश्रमिक, ज्येष्ठ नागरिक भत्ता, तथा फोहोरमैला संकलन र व्यवस्थापनमा साउन १ गतेदेखि असर पर्ने खतरा देखिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, बजेट कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र नगरसभामा पेस गर्नुपर्ने कानुनी प्रावधानको पालना नभएको समितिको ठम्याइ छ।
दफा ६६ अनुसार वैशाख १० भित्र स्रोत अनुमान र बजेट सीमा निर्धारण समितिको कार्य सम्पन्न हुनुपर्नेमा त्यो पनि कार्यान्वयन हुन सकेको छैन ।
समितिको औपचारिक माग
बजेट तर्जुमा समितिले मेयरको संयोजकत्वमा रहेको स्रोत तथा बजेट सीमा निर्धारण समितिको बैठक तत्काल सम्पन्न गरी आवश्यक समन्वय गर्न आग्रह गरेको छ।
लेखिएको पत्रमा भनिएको छ, “सम्बन्धित समितिको काम कारबाहीमा सहजीकरण गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने वातावरण बनाउनुपर्छ।”
समितिमा को–को छन्
संयोजक : उपप्रमुख सुनीता डंगोल
सदस्यहरू –
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ
सूचना प्रविधि संयोजक नवीन मानन्धर
वित्त संयोजक ईश्वरमान डंगोल
सुशासन संयोजक ख्याम तिवारी
सामाजिक संयोजक रामकुमार केसी
वातावरण संयोजक बालकृष्ण महर्जन
शिक्षा संयोजक चिनीकाजी महर्जन
विधायन संयोजक मचाराजा महर्जन
विपद् संयोजक प्रेम थापा
अन्य संयोजक र सदस्यहरू



























