काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रस्तुत गर्दा चलखेल र हस्तक्षेप भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले नेपाल प्रहरीसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा उक्त टिप्पणी गरेका हुन् ।
उनले भने, “समितिबाट सर्वसम्मत पारित भएका विधेयकहरू अन्तिम समयमा कार्यसूचीबाट हटाउने प्रवृत्ति देखा परेको छ, यो अत्यन्त गम्भीर र आपत्तिजनक हो । यस्तो चलखेल अब सह्य हुने छैन ।”
प्रचण्डले संघीय निजामती सेवा र विद्यालय शिक्षासम्बन्धी विधेयकलाई मुलुकका लागि अत्यावश्यक भन्दै, यस्ता संवेदनशील विधेयकहरू कार्यान्वयनको चरणमा पुग्न नसक्नुमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराएका छन् ।
संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने आफूहरु चुप नलाग्ने चेतावनी पनि दिएका छन् ।
प्रहरीसम्बन्धी विधेयकलाई सुधारसहित पारित गर्न सुझाव
अध्यक्ष दाहालले नेपाल प्रहरीसम्बन्धी विधेयकमा व्यापक छलफल, आवश्यक परिमार्जन र सरोकारवालाको सुझावलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले भनेक छन् “विधेयक ल्याउनु सकारात्मक भए पनि अब यसको गुणस्तर सुधार र प्रक्रिया सुनिश्चित गर्नु जरुरी छ। सङ्घीयताको मर्मअनुसार कानुनी संरचना बनाउन दलहरूबीच सहकार्य आवश्यक छ ।”
बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट पारित विधेयकहरू प्रतिनिधिसभामा हस्तक्षेपमा पर्ने प्रवृत्तिको विरोध गरेका छन् । उनीहरूले यस्तो कार्य संसदीय मर्यादाविपरीत भएको र यसलाई तत्काल रोक्नुपर्ने धारणा राखेका छन् ।
























