काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् ।
नेपाल बुधबार बिहान विशेष अदालतको इजलास नम्बर २ मा स्वयं उपस्थित भएका हुन् । उनी मुद्दामा म्याद तामेली नपठाइएका अवस्थामा, सार्वजनिक जानकारीको आधारमा अदालतमा उपस्थित हुने संवैधानिक सुविधा प्रयोग गर्दै अदालत पुगेका हुन् ।
उक्त इजलासमा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास बसेको छ । नेपालले यसअघि “अदालतमा उपस्थित हुन पाउँ” भन्ने निवेदन दर्ता गराएका थिए, जुन निवेदनको आधारमा आजको पेशी तय गरिएको हो ।
गत जेठ २२ गते अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वप्रधानमन्त्री नेपालको हकमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगोको मागसहित जरिवाना र सजायको माग गरेको छ ।
नेपाल निकट कानुन व्यवसायीहरूका अनुसार आजबाट सुरु हुने बयान प्रक्रिया छिटोछरितो रूपमा सम्पन्न गरिने योजना छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

























