काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा “विनियोजन विधेयक पारित गरियोस्” भन्ने प्रस्ताव पेश गरेका थिए, जुन बहुमतले पारित भएको हो। बैठकमा सभामुख देवराज घिमिरेले विधेयकका दफा निर्णयार्थ प्रस्तुत गरेका थिए।
खर्च कटौतीको प्रस्ताव अस्वीकृत
विधेयकमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत गरिए। यी प्रस्ताव सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, चित्रबहादुर केसी, जनार्दन शर्मा, रेखा शर्मा, प्रेम सुवाल, गङ्गा कार्की, शक्तिबहादुर बस्नेत, रणेन्द्र बराली, हितबहादुर तामाङलगायतले राखेका थिए।
विभिन्न मन्त्रालयमाथि छलफल र मन्त्रीहरूको जवाफ
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, शहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय अन्तर्गतका शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए।
यसअघि संसदमा विधेयकको सामान्य र मन्त्रालयगत छलफल सम्पन्न भएको थियो।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो। त्यसपछिका बैठकहरूमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिएको थियो।