काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि गठन गरेको समितिका संयोजक शंकरदास बैरागी नै अनुसन्धानको घेरामा रहेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै वाग्लेले बैरागीलाई ‘स्वार्थको द्वन्द्वमा रहेका पात्र’ भन्दै छानबिन समितिको नेतृत्व गर्न नहुने स्पष्ट पारे।
“उहाँ अहिलेका सत्तासीन नेताहरूको ‘गुड बुक’ मा रहन चाहने र स्वार्थको द्वन्द्वमा फसेका व्यक्ति हुनुहुन्छ,” वाग्लेले भने, “यस्ता व्यक्ति स्वयं सक्षम निकायहरूको राडारमा छन् भने, उनीहरूले अरूको छानबिन कसरी गर्ने?”
बैरागीको पृष्ठभूमिमाथि प्रश्न
वाग्लेले बैरागीलाई ‘स्थायी सत्ताको प्रिय पात्र’ भन्दै विगत १० वर्षको कार्यकालमाथि पनि प्रश्न उठाए। उनका अनुसार बैरागी सात वर्ष परराष्ट्र सचिव, त्यसपछि तीन वर्ष मुख्यसचिव रहे र रहस्यमय ढंगले बहिर्गमनपछि राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भए।
“उहाँको कार्यकालमा टेलिकम माफियाद्वारा गरिएको अरबौंको घोटाला भएको पृष्ठभूमि छ,” वाग्लेले आरोप लगाए।
रास्वपाको वैकल्पिक प्रस्ताव
वाग्लेले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार वर्तमान या पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन हुनुपर्ने रास्वपाको माग पनि स्पष्ट गरे।
“हामी चाहन्छौं कि निष्पक्ष र विश्वसनीय व्यक्तित्वको नेतृत्वमा छानबिन होस्,” वाग्लेले भने।