काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले स्वागत गरेको छ ।
माओवादी केन्द्रका सांसद वर्षमान पुनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जेठ २ गते भएको सहमतिअनुसार समिति गठन गरिएको भन्दै सरकारलाई धन्यवाद दिए ।
‘सरकारले भिजिट भिसा प्रकरणको अध्ययन र छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । गृहमन्त्रीले पनि यसबारे सदनमा जानकारी दिनुभएको छ । यसका लागि म सरकारलाई धन्यवाद दिन चाहन्छु’ पुनले भने ।
सांसद पुनले समितिले गम्भीर र तथ्यमा आधारित छानबिन गर्नुपर्नेमा जोड दिए । उनले छानबिन प्रक्रिया कमजोर वा पक्षपाती भयो भने जनताबाटै आलोचना हुने चेतावनी पनि दिए ।
निरन्तर निगरानी र खबरदारी
पुनले प्रमुख प्रतिपक्षको हैसियतले माओवादी केन्द्रले समितिको काममा निरन्तर निगरानी र खबरदारी गर्ने बताए। साथै, समितिले आफ्नो कार्यादेश ९टीओआर० अनुसार निष्पक्ष रूपमा काम गर्न शुभकामना पनि दिएका छन् ।
‘हामी प्रतिपक्षबाट पनि निगरानी र खबरदारी गरिरहनेछौं । समितिले टीओआर अनुसार जिम्मेवारी पूरा गरोस्, हाम्रो शुभेच्छा छ’, उनले भनेका छन् ।
























