काठमाडौं । गृहमन्त्री रमेश लेखकले हाल चर्चामा रहेको भिजिट भिसा प्रकरणको समस्या अब दीर्घकालीन रुपमा समाधान गरिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी दिए । समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सहभागी हुनेछन् ।
गृहमन्त्रीका अनुसार समितिले भिजिट भिसासम्बन्धी तत्कालीन र दीर्घकालीन समस्या पहिचान गरी समाधानका लागि सुझाव दिनेछ । आवश्यक परे नीतिगत र कानुनी सुधारको मस्यौदा समेत तयार गर्नेछ ।
९ बुँदे कार्यादेश
समितिलाई सरकारबाट ९ वटा कार्यादेश दिइएको छ । यी कार्यादेशअनुसार अध्यागमनमा देखिएका समस्याको पहिचान, दुरुपयोगको रोकथाम, र कानुनी सुधारका उपायहरू तय गरिनेछ ।
गृहमन्त्री लेखकले समितिको काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा असर नपर्ने गरी अघि बढ्ने स्पष्ट पारे ।
उनले छानबिन समितिको सुझाव कार्यान्वयन गरेर भिजिट भिसा प्रकरणको समस्या अब दीर्घकालीन रुपमा समाधान हुने विश्वास व्यक्त गरे ।
यस्ता छन् कार्यदेश
१) अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरूको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण, तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत, कानुनी एवम् संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाउने ।
२) अध्यागमन व्यवस्थापन भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिहरूको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरवलोकन आवश्यक भए, सोको मस्यौदा पनि बुझाउने ।
३) अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेस गर्ने ।
४) अध्यागमन व्यवस्थापन र नागरिकहरूको आवतजावतमा समस्या सिर्जना हुन नदिन सम्बद्ध निकायहरू बीचका समन्वय र सहकार्यका गर्नुपर्ने सुधार एवम् व्यवस्थाबारेमा सुझाव पेस गर्ने ।
५) अध्यागमन व्यवस्थापन र नागरिकहरूको यात्रा सहजीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेशअनुरूप कार्यान्वयन गर्न सकिने सुझाव पेस गर्ने ।
६) भिजिट भिसा, श्रम भिसा लगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरूबीचको समस्यामा पर्ने तथा विदेशमा अवैध रूपमा बस्दा समस्या हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथामका लागि अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेस गर्ने ।
७) अध्यागमन प्रणालीलाई प्रविधिमैत्री सरल, सहज, छिटो, छरितो बनाई सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव पेस गर्ने ।
८) विदेश आवतजावत गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकायहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेस गर्ने ।
९) अध्यागमनको आवतजावतको अभिलेख राखी सुरक्षित र दुरूस्त राख्न अपनाउनुपर्ने उपायकाबारेमा सुझाव पेस गर्ने ।
























