काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेका काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) परियोजनाको ४१ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले उपत्यका बाहिर तराईका जिल्लाहरूमा आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया पूर्णरूपमा सम्पन्न भइसकेको जानकारी दिए । उनले आगामी केही महिनाभित्र परियोजनामा उल्लेख्य प्रगति देखिने विश्वाससमेत व्यक्त गरे ।
“फास्ट ट्र्याकको करिब ४१ प्रतिशत काम सम्पन्न भइसकेको छ,” मन्त्री राईले भने, “तराईका सबै भूभागमा जग्गा अधिग्रहणको काम सकिएकोले अब भूमि सम्बन्धी विवादको विषय उठ्ने अवस्था छैन ।”
सरकारले सन् २०१७ (विक्रम संवत् २०७४) मा नेपाली सेनालाई द्रुतमार्ग निर्माणको जिम्मा दिएको थियो । आठ वर्षको अवधिमा ४१ प्रतिशत मात्र प्रगति भएको विषयमा उनले बजेट अभाव मुख्य चुनौती भएको उल्लेख गरे। साथै, बजेटको कमीले १८ वर्ष उमेर नाघेका युवाहरूका लागि सेनामा प्रवेशपूर्व तयारी तालिम दिन नसकिएको पनि स्पष्ट पारे ।
जलविद्युत् सुरक्षा सम्बन्धी विषयमा बोल्दै उनले भने, “नेपाली सेनाले जलविद्युत् आयोजनाहरूको सुरक्षा गर्छ, तर निर्माणमा प्रत्यक्ष संलग्न हुँदैन ।”
भविष्यमा सरकारको निर्णय र आर्थिक क्षमताको आधारमा नेपाली सेनाले बम निर्माण गर्ने योजना पनि रहेको बताए। तर हाललाई त्यो योजना कार्यान्वयनको चरणमा नरहेको स्पष्ट गरे ।