काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित उनको निवासमा भेटवार्ता गरेका छन् ।
भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको गुनासो राखे । साथै, सहमति कार्यान्वयनका लागि विपक्षी दलको दृढ समर्थनको अपेक्षा व्यक्त गरे ।
प्रचण्डले शिक्षक पेशा राष्ट्र निर्माणसँग गाँसिएको सम्मानित पेशा भएको उल्लेख गर्दै शिक्षकका जायज मागप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे। उनले भने, “शिक्षकहरूलाई सम्मान गर्नु आवश्यक छ, किनकि उनीहरू राष्ट्रको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् ।”
उनले सरकारसँग भएका सहमति कार्यान्वयन नहुनु दुःखद भएको भन्दै स्पष्ट पारे, “हामीले सदनको अवरोध हटाउने निर्णय गर्दा पनि सरकारले ‘शिक्षकका माग पुरा भएनन्’ भन्ने बहाना नबनाओस् भनेर हटाएका हौँ ।”
प्रचण्डले शिक्षकका सबै वैध मागहरू कुनै सर्तबिना शीघ्र पुरा गर्नुपर्नेमा जोड दिंदै आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले प्रारम्भिक बाल विकास कक्षालाई विद्यालयको औपचारिक संरचनामा समेट्नुपर्ने आवश्यकतामा पनि विशेष जोड दिए ।
भेटमा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेललगायत नेताहरू सहभागी थिए ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा क्षेत्रलाई अनिश्चितता मुक्त गराउन र सरकारले शिक्षकसँग गरिएका सहमति तत्काल कार्यान्वयनमा ल्याउन प्रचण्डसँग विशेष आग्रह गरेका थिए ।