काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति सशक्त बनाउन ६४ देशका अवैतनिक वाणिज्यदूतहरूको सक्रिय भूमिकालाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।
परराष्ट्र मन्त्रालयअन्तर्गत आर्थिक कूटनीति विभाग र अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को संयुक्त आयोजनामा चन्द्रागिरीमा आयोजित “नेपालको निर्यात व्यापार: अवस्था, चुनौती र सम्भावना” विषयक कार्यशालामा बोल्दै ढकालले यस्तो धारणा राखेका हुन् । ढकाल स्वयं एचसीसीएनका डीन समेत हुन् ।
उनका अनुसार, अवैतनिक वाणिज्यदूतहरू व्यापार, पर्यटन, लगानी र अन्तर्राष्ट्रिय सहकार्यमा पहिल्यैदेखि क्रियाशील छन्। सरकारले खर्च नगरी उनीहरूले आफ्नै स्रोत र सञ्जालमार्फत विदेशमा नेपालको प्रवर्द्धन गरिरहेका छन् ।
ढकालले परराष्ट्र मन्त्रालयद्वारा गठन गरिएको आर्थिक कूटनीति विभागको स्वागत गर्दै यसले सरकार, निजी क्षेत्र र कूटनीतिक क्षेत्रबीच सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
उनले निजी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान गरिरहेको उल्लेख गर्दै, निजी क्षेत्रलाई आर्थिक सहयोगभन्दा बढी सम्मान, पहिचान र निर्णय प्रक्रियामा सहभागिता आवश्यक भएको बताए ।
























