काठमाडौं । सुर्खेतदेखि खाली खुट्टामा हिँडेर काठमाडौं आइपुगेका सामाजिक अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन् ।
कर्णालीको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणजस्ता मुद्दा लिएर जेठ ४ गते सुर्खेतबाट यात्रा सुरु गरेका बोहरा ३१ दिनमा काठमाडौं आइपुगेका हुन् । असार ३ गते राजधानी पुगेका उनी, प्रधानमन्त्रीलाई आफ्ना अनुभव र अभियानका निष्कर्षहरू सुनाउन सिंहदरबार पुगेका थिए, तर त्यतिबेला प्रधानमन्त्री व्यस्त रहेकाले सचिवालयका सदस्यहरूसँग भेटेर फर्किएका थिए ।
आइतबार प्रधानमन्त्री निवासमा भएको भेटमा बोहराले कर्णाली क्षेत्रका समस्या, उपचार नपाएका बालबालिकाको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले अभियानको भावना प्रशंसनीय रहेको बताउँदै बोहरालाई “शरीरलाई धेरै दुख नदिई स्वास्थ्य र परिवारको पनि ख्याल राख्न” आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसँग भेटपछि बोहराले पहिलो चरणको अभियान सम्पन्न भएको भन्दै अब जुत्ता लगाएर, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताएका छन् ।
सिंहदरबार प्रवेशका क्रममा खाली खुट्टा पुगेका बोहरालाई अघिल्लो पटक प्रधानमन्त्री कार्यालयले एक जोर जुत्ता उपहारस्वरूप दिएको थियो । एक सचिवालय सदस्यले भनेका थिए , ‘अनसन तोड्दा जुस खुवाएझैँ, बोहरालाई पनि माग सम्बोधनको आश्वासनसहित जुत्ता दिइएको हो ।’