काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि तीव्र आलोचना गरेका छन् । सिंहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले सहरी विकास मन्त्रालयलाई ‘लथालिंग’ बनेको मन्त्रालयको संज्ञा दिँदै प्रधानमन्त्रीलाई मन्त्री परिवर्तन गर्न सुझाव दिएका छन् ।
“संयुक्त सरकार हो भनेर मन्त्रीहरूले बुझेर काम गर्नुपर्ने हो,” थापाले भने, “तर सहरी विकास मन्त्रालय जनताको हितभन्दा पार्टी कार्यकर्तालाई बजेट बाँड्ने थलोजस्तो भएको छ । जय नेपाल भनेकै भरमा बजेट बाँडिएको छ ।”
थापाले प्रकाशमान सिंहका बाबु गणेशमान सिंह भएको कुरा ‘सुनिएको’ भन्दै व्यंग्य गरे । साथै, मन्त्रीले आफन्त र पार्टी निकट संस्थालाई प्राथमिकतामा राखेर बजेट दिएको आरोपसमेत लगाए ।
प्रकाशमान सिंहको आलोचना त्यसपछि चुलिएको हो, जब केही दिनअघि नेपाली कांग्रेस निकट तरुण दलको भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत बजेट छुट्याइएको खुलासा भएको थियो ।