काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन् । राप्रपाले बैठक बहिष्कार गरे पनि संसदमा बजेटमाथिको मन्त्रालयगत छलफल अगाडि बढाइएको छ ।
रास्वपाका सांसद असिम साहले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग दोहोर्याउँदै, आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिए । त्यस्तै, राप्रपाका धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा अश्रुग्यास प्रहार गरेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।
यसैवीच स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संसदमा नेपालका केही जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी ७२ जिल्लालाई विदेशी देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएपछि बैठकमा विवाद चुलिएको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले सिंहको भनाइलाई राष्ट्रघाती भन्दै कडा आपत्ति जनाए र कारबाहीको माग गरे । उनले यस्तो अभिव्यक्ति देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध भएको बताए ।
सत्तारुढ दलका सांसदहरूको दबाबपछि सभामुखले अमरेश सिंहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने निर्देशन दिएका छन् ।