काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई बेवास्ता गरेको आरोप लगाएको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद्प्रति गैरजिम्मेवार भएको टिप्पणी गर्दैभने, “सरकारले यो सदनलाई यति हेपेको छ कि यसको वर्णन गर्न गाह्रो छ।”
पाण्डेले बारम्बार कार्यसूची तय भए पनि अन्तिम समयमा विषय हटाइने गरिएको भन्दै त्यसको कारण स्पष्ट पार्न माग गरे। “कार्यसूचीमा समावेश गरिएका विषय किन हटाइन्छन्?” भन्ने प्रश्न गर्दै उनले संसद्प्रति सरकारको दृष्टिकोणप्रति असन्तुष्टि जनाए।
बजेटको मन्त्रालयगत छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू उपस्थित नहुनु नियमावलीको उल्लंघन भएको उनको भनाइ छ। मन्त्रीहरू अनुपस्थित हुँदा छलफल गरिनु प्रतिनिधि सभा नियमावलीको ठाडो उल्लंघन भएको भन्दै उनले आपत्ति जनाए।
सांसदहरूले मन्त्रालयगत बजेटको पुस्तक नपाएका कारण खर्च कटौतीको प्रस्ताव राख्न नपाएको पनि उनले गुनासो गरे।
संसद्मा जारी अवरोध हटाउन सरकार अग्रसर नभएको आरोप पनि पाण्डेले लगाए। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्को बैठक बहिष्कार गरिरहेका छन्।
शुक्रबारदेखि रास्वपाका सांसदहरूले सदनको सम्पूर्ण कामकारबाही बहिष्कार गरेका छन् भने राप्रपाले यसअघि नै बहिष्कार थालेको थियो।
दुवै पार्टीले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै आएका छन्।
























