काठमाडौं । रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान राख्दै केही बेवर नाराबाजी र वेल घेराउ गरेपछि बैठकबाट बाहिरिएका हुन् ।
रास्वपाका सांसदहरू आज विरोध जनाउँदै नीलो रिबन र कालो लुगा लगाएर सदन पुगेका थिए ।
रास्वपाले बैठकमा विरोध जारी राखेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्न सोध्ने कार्यसूची थियो ।
विरोध जारी राखेसँगै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको सूचना सुनाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ।