काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना पूर्व र वर्तमान गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग अघि सारेको छ ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि हालका गृहमन्त्री रमेश लेखकसम्मका १४ गृहमन्त्रीहरू छानबिनको दायरामा पर्नुपर्ने तर्क गरे ।
शाहीले भिजिट भिसा प्रकरणलाई कुनै दल विशेषको मुद्दा नभई राष्ट्रिय चासोको विषय भएको उल्लेख गर्दै यसमा सबै दल एकजुट हुनुपर्ने आह्वान गरे । “यो विषय साझा हो, साँचो छानबिनका लागि सबै दल मिल्न जरुरी छ,” उनले भने ।
उनले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म विरोध कायमै रहने स्पष्ट पारे। साथै, विरोधका बीच जबरजस्ती सदन सञ्चालन नगर्न सरकारलाई आग्रह गरे ।
संसद्को कार्यसूची अगाडि बढेपछि रास्वपाका सांसदहरूले वेल घेराउ गरेका थिए भने राप्रपाका सांसदहरू बैठक बहिष्कार गरी बाहिरिएका थिए ।

























