काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका च्यातेका छन् । उनले बजेट जनउत्तरदायी नदेखिएको र जनताको अपेक्षा विपरीत रहेको भन्दै असन्तुष्टि स्वरुप पुस्तिका च्यातेका हुन ।
सांसद थापाले भौतिक पूर्वाधार मन्त्रालयको बजेटसहित समग्र बजेट नै उल्टो बाटोबाट हिँडेको टिप्पणी गरेका छन् । उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले दैलेख मात्र होइन, देशका धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन । जनताबाट उठाइएको राजस्व जनतामै फर्कनुपर्थ्यो, तर यो बजेट त्यस दिशामा गएको देखिएन ।’
थापाले बजेटप्रति असहमति जनाउँदै संसद् बैठकमै भने ‘मलाई यो किताब मन परेन, च्यात्ने अनुमति लिएर च्यातेँ । धन्यवाद ।’
























