काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले पक्राउ गरेको छ ।
सीआईवीका प्रवक्ता एसपी युवराज खड्काले सिंहलाई बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि नेपालगञ्जबाट पक्राउ गरिएको बताएका छन् ।
यसअघि, कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय भारतको लखनउबाट पक्राउ परी नेपाल ल्याइएको थियो । हालसम्म यस प्रकरणमा दुईजना पक्राउ परिसकेका छन् भने अन्य व्यक्तिहरूको खोजी भइरहेको सीआईवीले जनाएको छ ।
२ अर्ब ५० करोड रुपैयाँ बराबरको अपचलन
बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको नेतृत्वमा गठित विशेष छानबिन समितिको रिपोर्ट अनुसार बैंकमा झण्डै २ अर्ब ५० करोड रुपैयाँ अपचलन भएको छ । छानबिन अनुसार बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा देखाइएको मौज्दात र वास्तविक मौज्दातमा ठूलो अन्तर रहेको पाइएको छ ।
छानबिनले रायसहित पूर्व सीईओ दिनेशकुमार रावत, तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी, तथा वरिष्ठ वित्त प्रमुख निरजविक्रम शाह पनि अपचलनमा संलग्न हुनसक्ने आशंका व्यक्त गरेको छ ।
रायले राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरूलाई झुक्याउन नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ तयार पारेर पेश गर्ने, फोटोसपमार्फत विवरण हेरफेर गर्ने, र चेक क्लियरिङ तथा नगद भुक्तानीमार्फत रकम निकाल्ने जस्ता कार्य गरेको आरोप लागेको छ।
राष्ट्र बैंकको खातामा रकम शून्य भेटियो
राष्ट्र बैंकमा रहेको बैंकको सीआरआर खातामा सीवीएस अनुसार २२ करोड ७४ लाख रुपैयाँ देखिएको भए पनि वास्तविक मौज्दात शून्य भेटिएको छ । यसले अपचलन व्यवस्थित ढंगले लुकाइएको देखाउँछ ।
घटनाको थप अनुसन्धान सीआईबीको टोलीले गरिरहेको छ । अनुसन्धान बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत चलाइएको हो, जसमा नेपाल राष्ट्र बैंकको समेत समन्वय रहेको छ ।