काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको थियो। सो दिन १३ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३०६ स्क्रिप्सको १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँमा खरिदबिक्री भए। एउटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जीको सेयर ९.९९ प्रतिशतले बढयो।
बुटवल पावर र सामुदायिक लघुवित्तीय वित्तको सेयर ७ प्रतिशत बढीले बढ्यो। कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७४ करोड ९६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी बुटवल पावरको ६० करोड,नगदी ग्रुपको ४६ करोड,राधी विद्युतको ३८ करोड र सोल्टी होटलको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ९९ वटा स्टक्सको मूल्य बढ्दा १४८ वटाको घट्यो।
तीन समूहको उपसूचकबाहेक अन्यको घट्यो। हाइड्रोपावर,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्यको घटेको हो।