काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोले नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा आफूलाई कार्यालय प्रवेशमा रोक लगाइएको आरोप लगाएकी छन् ।
मंगलबार बिहान कार्यालय जान लाग्दा उनलाई नगर प्रहरीद्वारा गेटमै रोकिएको हो। कार्यालयको मुख्य गेटमा ताला लगाइएको छ र उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । नगर प्रहरीले मेयरको आदेशमा गेटमा तालाबन्दी गरेर प्रवेश रोकिएको बताइएको छ ।
उपप्रमुख महतोले आफू निर्वाचित जनप्रतिनिधि भएको बताउँदै “गुण्डागर्दी शैलीमा” कार्यालय प्रवेशमा रोक लगाइनु आपत्तिजनक भएको प्रतिक्रिया दिएकी छन् । उनले एक भिडियोमार्फत् असन्तुष्टि व्यक्त गर्दै नगरप्रमुखले जनप्रतिनिधिको मर्यादा विपरीत व्यवहार गरेको बताइन् ।
स्रोतका अनुसार, केही दिनअघि उपप्रमुख महतोले दर्ता-चलानीको कोलम खाली राखिएको विषयमा अनियमितता भएको आशंका गर्दै रजिष्टर नियन्त्रणमा लिएकी थिइन् । उनले नगरप्रमुख दीपेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीमाथि मिलेमतोमा अनियमितता गर्ने प्रयास भएको आरोप पनि लगाएकी छन् ।
मंगलबार बिहान ८ बजे कार्यपालिका बैठक बोलाइएको भए पनि उपप्रमुख महतोले साढे ८ बजे पुग्दा कार्यालय प्रवेश नदिएको बताइन् । “भित्रको वातावरण असामान्य देखियो, त्यसैले म फर्किएँ,” उनले भनिन्, “पुनः कार्यालय समयमा गइँदा पनि प्रवेशमा रोक लगाइयो ।”
नगरबासीसँग सहयोग माग्दै उनले निष्पक्ष छानबिनको माग गरेकी छन् । मेयर र उपमेयर दुवै जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित हुन् ।