काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठक पनि अवरोधमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
हिजोको बैठकमा पनि रास्वपाले नाराबाजी गर्दै विरोध जनाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका थिए। बैठकअघि सभामुखले दलहरूलाई छलफलमा बोलाएका थिए, तर कुनै सहमति जुट्न सकेन।
आजको बैठकमा पनि राप्रपाले उपस्थिति जनाएन भने रास्वपाका सांसदहरू वेल (सभामुखको आसनअगाडि) घेरेर विरोधमा उत्रिए। बैठकमा रास्वपाबाट सांसद सन्तोष परियार र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देनले आ–आफ्नो धारणा राखेका थिए।