काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा दिन सक्ने कर्मचारीतन्त्रले मात्रै लोकतन्त्रलाई बलियो बनाउन सक्ने बताउनु भएको छ ।
लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव तथा हिरक जयन्ती समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रसेवकहरूले नागरिकको मन जित्ने खालको सेवा दिनुपर्नेमा जोड दिनु भएको हो ।
“स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक प्रविधि र दक्ष जनशक्तिको उपयोग गर्दै सुशासनको मर्मअनुसार काम गर्नुपर्छ,” उहाँले भन्नु भयो, “यहीमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको अपेक्षा पूरा गर्दै तीव्र आर्थिक विकास सम्भव छ।”
राष्ट्रपति पौडेलले समावेशी पदपूर्तिको प्रणालीमार्फत विभिन्न वर्ग र समुदायका प्रतिनिधिलाई समेट्न आयोग सफल भएकोमा प्रशंसा गर्दै समयानुकूल सुधार गर्दै कर्मचारी छनोट, बढुवा र परामर्श प्रक्रियालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

























