काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले कुनै सम्झौता गरेको वा झुकेको भन्ने आरोप असत्य भएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले केही दिन अघि संसद अवरोधका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यलाई स्मरण गरे। उनले माओवादी र रास्वपाले मिलेर संसदमा त्रिभुवन विमानस्थल अध्यागमन र भिजिट भिसासम्बन्धी अनियमितता उजागर गरेको बताए ।
पुनले भने -सरकारसँगको संवादपछि र आम जनभावनालाई ध्यानमा राख्दै उठेका विषयहरूको छानबिन गर्ने सहमतिपछि माओवादी केन्द्र संसद चलाउन तयार भएको हो । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए पनि छानबिनमा सहकार्य गर्ने बताएका र एक महिनाभित्र निष्पक्ष छानबिन हुने प्रतिबद्धता व्यक्त गरिएकाले संसद अवरोध हटाइएको उनले बताए ।
उनले रास्वपालाई पनि छलफलमा सहभागी हुन आग्रह गर्दै सहमतिमा आउन आग्रह गरेका थिए। “मुख्य कुरा भिजिट भिसा प्रकरणको गम्भीर र निष्पक्ष छानबिन हुनु हो,” उनले भने ।
केहीले माओवादी गृहमन्त्रालयबाट डराएर पछि हटेको भनेर टिप्पणी गरेकाबारे उनले त्यस्तो केही नभएको स्पष्ट गरे। “हामी झुकेको छैनौं, झुक्ने कुनै कारण छैन,” पुनले भने ।
साथै, पुनले केहीले माओवादीले संसद खुलाउन सहमति गर्दा अग्नि सापकोटाविरुद्धको मुद्दामा लेनदेन भएको आशंका गरेका भए पनि त्यसमा कुनै सत्यता नरहेको बताए ।
रास्वपा नयाँ पार्टी भएकाले अनुभवको आधारमा अघि बढ्नुपर्ने सुझाव दिँदै, पुनले सभामुखलाई संवादको पहल लिन र सबै दललाई अभिव्यक्ति दिन वातावरण बनाउन आग्रह गरे। साथै, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि समाधानका लागि अग्रसर हुनुपर्ने बताए।