काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति निष्पक्षता कायम गर्ने विषयमा जनताको विश्वास मजबुत रहेको बताएका छन् ।
आयोगको हिरक जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आयोगले योग्यता, निष्पक्षता र पारदर्शिता कायम गर्दै निजामती सेवा तथा सुरक्षा निकायजस्ता संगठित संस्थाहरूमा पदपूर्तिका लागि उल्लेखनीय योगदान दिएको प्रशंसा गरेका छन् ।
“नेपाल र नेपाली जनताको अपेक्षाअनुसार आवश्यक जनशक्ति छनोट गर्न आयोगले अपनाएको परीक्षा प्रणाली सुधार गर्दै प्रविधिमैत्री र समयसापेक्ष बनाउँदै गएको जानकारीले मलाई खुसी बनाएको छ,” प्रधानमन्त्री ओलीले भने, “आयोगलाई अझ प्रविधिमैत्री र साधन–स्रोत सम्पन्न बनाउन तथा वार्षिक प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायहरूले विशेष ध्यान दिनुपर्छ। सरकारले आवश्यक सहजीकरण गर्न तत्पर रहनेछ।”
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले पारदर्शिता र निष्पक्षता कायम राख्दै युवा पुस्तामाझ विश्वासको वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै, राष्ट्रसेवामा सबैलाई प्रेरित गर्ने भूमिकामा आयोग निरन्तर अग्रसर रहने विश्वास व्यक्त गरेका छन् ।
























