काठमाडौं । मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएपछि सरकारले घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयबाट गठित समितिको संयोजकत्व सडक विभागका उपमहानिर्देशक ललिजन खनालले गर्नेछन्। समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् ।
समितिलाई पुल भत्कनुको कारण पत्ता लगाउने, भविष्यमा यस्ता दुर्घटना नदोहोर्याउनका लागि आवश्यक सुझाव दिने तथा तत्काल अस्थायी यातायात सञ्चालनको उपायबारे स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिले आइतबारदेखि काम सुरु गरिसकेको छ ।
मन्त्री दाहालले यो अप्रत्याशित घटना भएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले ज्यान गुमाएका मजदुरहरूप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको उपचारमा कुनै कमी नहोस भनेर मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक डा. विजय जैसीलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
दुर्घटनामा बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । उनीहरू गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल हुँदै नोबेल मेडिकल कलेज, विराटनगर पठाइएका थिए, जहाँ चिकित्सकले गएराति तीनै जनालाई मृत घोषणा गरेका थिए ।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने स्थानमा ७० मिटर लामो मोडुलर बेलिब्रिज जडान गर्ने कार्य भइरहेको थियो । फिदिमतर्फको भागबाट स्काभेटरको सहायताले ब्रिजलाई ठेलेर हिलिहाङतर्फ लगिँदै गर्दा एकातर्फको भार अत्यधिक भएर बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । ब्रिज भाँचिँदा काम गरिरहेका मजदुर खोलामा खस्दा घाइते भएका थिए ।
यसअघि २०८० असार २ गते आएको बाढीले सोही स्थानमा रहेको ४५ मिटरको पक्की पुल बगाएको थियो। त्यसपछि सोही वर्षको साउनमा अस्थायी रूपमा ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर, त्यो पनि असोज १२ मा आएको बाढीले बगाएपछि करिब ९० मिटर तल नयाँ बेलिब्रिज निर्माण भइरहेको थियो । काम अन्तिम चरणमा पुग्दा दुर्घटना भएको हो ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त बेलिब्रिजको संरचना निर्माण तथा जडानको जिम्मा सुपर सौगात लाइट बिल्डर्स जेभीले लिएको थियो । कुल लागत करिब ३ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

























