काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा आफ्नो विरोध जारी राख्ने स्पष्ट पारेको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति गरेर आफूहरुलाई झुक्याएको आरोप लगाउँदै संसदमा पार्टीको विरोध यथावत् रहने बताए ।
सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीर रूपमा नलिएको उल्लेख गर्दै परियारले भने, “रास्वपा भिजिट भिसा र अध्यागमन प्रकरणमा सुरु देखिनै आन्दोलनमा छ । हामीले संवाद र प्रयास गरे पनि सरकारले विषयलाई गम्भीरतापूर्वक लिएको देखिएन । सुशासनको पक्षमा अघि बढ्न खोज्दा कुनै सुनुवाइ भएन ।”
उनका अनुसार प्रमुख प्रतिपक्षले गरेको दुई बुँदे सहमति न त ठोस थियो, न कार्यान्वयन हुने खालको । “हाम्रो माग अनुसारको छानबिन हुन सकेन, न्याय दिने प्रकृया अगाडि बढेन । केवल झारो टार्ने र हामीलाई झुक्याउने काम भयो,” उनले बताए ।
परियारले गृहमन्त्रीको राजीनामाको मागबाट आफूहरू पछि नहट्ने स्पष्ट गर्दै भने, “रास्वपा संसदको मर्यादा र जिम्मेवारीप्रति प्रतिवद्ध छ। तर, हाम्रो पाँच बुँदे मागमा सहमति र उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद चल्न सक्दैन ।”
सभामुख देवराज घिमिरेले रास्वपाका नेताहरूसँग संसद अवरोध अन्त्य गर्न छलफल जारी राखेका छन्। रास्वपासँगको सहमति नजुटेकै कारण संसद बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन ।
सभामुखले आज बिहान रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै, संवैधानिक बाध्यताका कारण बजेटमाथि छलफल अगाडि बढाउनुपर्ने बताउँदै अवरोध नगर्न आग्रह गरेका थिए ।
























