काठमाडौं । संसदमा जारी अवरोधका विषयमा सभामुख देवराज घिमिरेले आज बिहान रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
सभामुख घिमिरेले आफ्नो कार्यकक्षमा कार्यवाहक अध्यक्ष अर्यालसँग छलफल गर्दै संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल अगाडि बढाउनु अनिवार्य रहेको बताए । उनले संसद अवरुद्ध गर्ने शैलीमा परिवर्तन ल्याउन आग्रह गरे ।
सभामुखले संसदको गरिमा कायम राख्नुपर्नेमा समेत ध्यानाकर्षण गराए। जवाफमा कार्यवाहक अध्यक्ष अर्यालले संसद मर्यादित बनाउने प्रतिवद्धता जनाउँदै अवरोध जारी रहने स्पष्ट पारे ।
गत शुक्रबारको संसद बैठकमा केही गतिविधि संसदीय मर्यादाविपरीत भएको भन्दै प्रमुख सचेतकहरूले आज बिहानको छलफलमा सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग टेलिफोन वार्ता गर्दै संवैधानिक बाध्यतालाई बुझिदिन र संसदको अवरोध हटाउन अनुरोध गरे। साथै, आफ्ना कुरा संसदमै राख्दै सदन सञ्चालनको वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।
























