काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
केदारनाथ मन्दिरको दर्शन गरेर फर्किंदै गरेका यात्रुहरूसहितको हेलिकप्टर गौरीकुण्डतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलटसहित एक बालक र अन्य यात्रु गरी पाँच जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम ‘दैनिक भाष्कर’ले जनाएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि टोली खटाइएको छ ।
भारतीय मिडियाका अनुसार दुर्घटनाको सम्भावित कारण खराब मौसम मानिएको छ ।
दुर्घटनामा परेको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रु सवार थिए ।