काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि मोसो प्रहार गरेका छन् ।
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसला गरेकै कारण उनीमाथि कार्यकक्षमै पुगेर मोसो दलिएको हो ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले वीरगञ्ज इजलासमै प्रवेश गरी न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन्। इजलासभित्रै ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नाराबाजीसहित मोसो हानिएको थियो ।
मोसो प्रहार गरेलगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर र अभिनाष भन्ने किशोर कुम्हाल रहेको स्रोतले जनाएको छ ।
स्मरण रहोस्, गत जेठ १४ गते रौतहटको बहुचर्चित राजपुर बम बिस्फोट र व्यक्ति हत्याको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका मोहम्मद आफताब आलमले उच्च अदालत वीरगञ्ज इजलासबाट सफाइ पाएका थिए। उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो।






















