काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय सम्मेलनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । कीर्तिपुरमा जारी सम्मेलनमा बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए तापनि केही ढिला गरी अहिले मतदान भइरहेको छ ।
निर्वाचन समितिले हिजै साँझ उम्मेदवारी दर्ता गरिएका विवरणहरूलाई रुजु गरी आज बिहान मात्रै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको थियो। यसपटकको निर्वाचनमा ४५ वटा विद्युतीय मतदान मेसिन (भेन्डिङ मेसिन) प्रयोग गरिएको छ ।
अनेरास्ववियुको अध्यक्ष पदका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उपाध्यक्षतर्फ खुला समूहमा चार जना र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, महासचिव पदमा दीपक धामी, आरके रोमस र सुनिल कंडेल गरी तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । सचिव पदका लागि भने ३५ जनाले उम्मेदवारी दिएका छन् ।
हाल निर्वाचन स्थलमा उम्मेदवारहरू आ-आफ्नो पक्षमा मत तान्न विभिन्न किसिमले प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।