काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
हाल सूचना तथा प्रसारण विभागको महानिर्देशक रहेका परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल विरुद्ध पनि मुद्दा दायर भएको छ।
उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो। तर, कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गर्दा पनि ठेक्का उसैलाई दिइएको भन्दै उजुरी परेको थियो।
अख्तियारले अनुसन्धानपछि करिब ४ करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरेको हो। कम कबोल गर्ने समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिई बढी कबोल गर्ने कल्पवृक्ष कोहिनूर जेभीलाई ठेक्का दिएको विषयमा छानबिन भइरहेको थियो।