काठमाडौं । विपक्षी दलहरूको निरन्तर नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आजका सम्पूर्ण कार्यसूचीहरू हटाउँदै बिहीबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन् ।
आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले ‘गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी सुरु गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न र त्यसका लागि सहयोगको वातावरण बनाउन पटकपटक आग्रह गरे पनि विपक्षीहरूले त्यसलाई अस्वीकार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको अडान राख्दै विपक्षी दलहरूले विगत दुई सातादेखि निरन्तर संसद बैठक अवरोध गरिरहेका छन् ।