काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्य गर्न सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरूबीच आज पनि छलफल भइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका नेताहरू सहमतिको लिखित प्रस्ताव तयार पार्न जुटेका हुन् ।
सहमति मस्यौदा तयार भएपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच थप छलफल हुनेछ। यदि समझदारी जुट्न सकेमा आजै संसद् बैठक सुचारु हुने नेताहरूले बताएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका केही दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हटेका छन्। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अझै पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा कायमै छ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ १२ गतेदेखि संसद् बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। यद्यपि, जेठ १५ गते बजेट प्रस्तुत गर्न भने प्रतिपक्षी दलहरूले अनुमति दिएका थिए। त्यसयता भने संसद् बैठक नियमित सञ्चालन हुन पाएको छैन।
संसद् खुलाउने विषयमा आइतबार पनि दलहरूबीच छलफल भएको थियो। यस क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि छुट्टै छलफल भएको थियो। आजको छलफलले संसद्को गतिरोध अन्त्य गरी नियमित कार्य सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।