काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि नेता वा समूहका नाममा हुने गुटबन्दी स्वीकार्य नहुने भन्दै कडा चेतावनी दिएका छन्।
अनेरास्ववियुको २४औँ महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले महाधिवेशन घोषणा नहुँदैैै “फलानो आउने रे” भनेर हल्ला चलाउने र पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताए।
ओलीले भने, “अहिले हल्ला चलेको छ, तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन्। यसको कुनै आवश्यकता छैन। अर्को खेल हुन खोजेको छ यहाँ, फलानो आउने रे, यस्तो उस्तो। पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष। महाधिवेशन घोषणा भएको छैन। बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस्। स्टाटस सिस्टाटसलाई जवाफ दिनुस्।”
पार्टीका आन्तरिक कुरा बाहिर लगेर फेसबुक वा अन्तर्वार्तामार्फत पार्टीलाई खुइल्याउने काम भएमा त्यसलाई बाह्य हमलाका रूपमा लिई जवाफ दिने ओलीले चेतावनी दिए। उनले बाहिर गएर पार्टीमा ढुंगा हानेपछि त्यो आन्तरिक मामिला नरहने भन्दै यस्ता कुरा सहँदा आफू हैरान भएको बताए। यस क्रममा उनले भीम रावलले वर्षौंसम्म यसैगरी बाहिरबाट ढुंगा हानेको उदाहरण दिए।
एमालेमा ७० वर्षे उमेर हदबारे पुनर्विचारको संकेत
प्रधानमन्त्री ओलीले एमालेमा लागू गरिएको ७० वर्षे उमेर हद असफल (फेल) भइसकेको बताएका छन् । अनेरास्ववियुको महाधिवेशन समारोहका पहिलो वक्ता विश्वकान्त मैनालीले ७० वर्ष कटेपछि राजनीतिबाट सन्यास लिएको बताएपछि ओलीले अब त्यो प्रावधान काम नलाग्ने बताए ।
अध्यक्ष ओलीले चीन र साइप्रसका कम्युनिष्ट पार्टीले पनि उमेर हद हटाएको उदाहरण दिँदै स्वास्थ्यले साथ दिएसम्म र कार्यक्षमता भएसम्म आवश्यकताका आधारमा नेतृत्व गर्न सकिने तर्क गरे।
ओलीले भने, “विश्वकान्तजीले भन्नुभयो उहाँ अलि बुढो पनि हुनुभयो। अब एमालेमा ७० वर्ष उमेर फेल खाइसक्यो । म ७४ मा छु अब ४ वर्षअघि फर्किने कुरा भएन, ७० मा रिटायर्ड फेल खाएन त ? चीनमा २ पटक मात्र महासचिव र राष्ट्रपति बन्ने व्यवस्था थियो त्यो सी जिनपिङको पालामा निरन्तरताको आवश्यकता देखेपछि हटाइयो । उहाँ अहिले ७२ वर्ष भइसक्नुभयो। त्यहाँ ६५ वर्ष भनेको थियो, साइप्रसको कम्युनिस्ट पार्टीले पनि ६५ वर्ष उमेर हटायो। अब यसमा पार्टीले आफ्नो आवश्यकता आधारमा निर्णय लिन्छ।”
अध्यक्ष ओलीले ७० वर्षे उमेर हदका कारण माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षबाट नहटाइएको दाबी गर्दै आवश्यकता नभएपछि उनीहरूलाई हटाइएको स्पष्ट पारे। उनले मनमोहन अधिकारी ७८ वर्षसम्म पार्टी अध्यक्ष भएको उदाहरणसमेत दिए।
माधव नेपालमाथि ओलीको कटाक्ष
प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले १४-१५ वर्ष नेतृत्व गरेको पार्टीलाई खरानी बनाउने धम्की दिएको आरोप लगाए।
ओलीको भनाइ थियो, “त्यही पार्टीमा १४, १५ वर्ष नेता भए। अनि त्यही पार्टीलाई खरानी बनाइदिन्छु। यसलाई माटो बनाएर छोडिदिन्छु। यसलाई धुलो पिठो बनाएर छोडिदिन्छु। टर्च बालेर खोज्दा पनि नभेटिन् बनाइदिन्छु। पार्टीप्रति कस्तो वैरभाव हो? त्यत्रो तीन दशक पार्टी नेतृत्व गरेकाहरू एक ठाउँ भेला भएर त्यही पार्टी सिध्याउँछु भन्छन्।” उनले यसरी पार्टी सिध्याउन खोज्नुको कारणमाथि प्रश्न उठाए।
तर, आफूलाई १५ वर्ष पार्टीभित्र गतिविधि गर्न नदिएको उल्लेख गर्दै ओलीले त्यस्तो बेला पनि आफूले कुनै गुनासो नगरेको बताए। “१५ वर्ष पार्टीभित्र कतै जान नपाउने, कसैलाई भेट्न नपाउने,” ओलीले भने, “मैले स्थापना गरेको युवा संघमा १० वर्ष मैले पाइलो टेक्न पाइनँ। तर, मैले कुनै गुनासो गरिनँ। कुनै पनि बोलिनँ। कहिले पनि केही पनि बोलिनँ।” उनले आफूले सधैँ राजनीतिक कुरा मात्रै गरेको र पार्टीका पक्षमा मात्रै बोलिरहेको बताए ।
























